अचानक बान्ता भएर ढलेका प्रहरी असईको निधन

नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झ’गडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो ।

बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए । खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न आइपुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए । सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

त्यस्तै गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ। पछिल्लो मानवीय हताहतीसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा निधन भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए। ‘आज बिहान ७ बजेर १० मिनेटमा उनको निधन भएको हो, शव व्यवस्थापनका लागि तयारी चलिरहेको छ,’ डा. चौधरीले भने। यद्यपी, स्वास्थ्य निर्देशनालयले हरेक दिन गर्ने नियमित पत्रकार सम्मेलनमार्फत निधनको पुष्टि हुन बाँकी नै छ। अस्पतालले भने केही बेरमा नै आधिकारिक जानकारीसहित विज्ञप्ती जारी गर्ने बताएको छ।