Tue. Jul 14th, 2020

प्रदेस २ स्वास्थ्य सामग्री आपूर्ति केंद्र कै कर्मचारिलाई कोरोना संक्रमणको पुष्टि

कार्यालयका कर्मचारीमा कोरोना संंक्रमण पुष्टि भएपछि २ नम्बर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टीन बनाएर कार्यालय सञ्चालन गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा कार्यरत महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सबै कर्मचारी कार्यालयमै क्वारेन्टीनमा बसेका छन।

जेठ १५ गते कार्यालयमा कार्यरत महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

कार्यालयका सूचना अधिकारी श्रवण नायकका अनुसार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको जेठ ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ आएकी महिला कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा भर्ना गराइएको छ । ‘उहाँलाई भर्ना गराइएपछि कार्यालयलाई पूर्णरुपले स्यानिटाइज गरेर डिसइन्फेक्ट गरेर क्वारेन्टीनमा रुपान्तरण गरी कार्यालय सञ्चालन गर्दै आएका छौं,’ सूचना अधिकारी नायकले भने, ‘त्यस दिनदेखि हामी सबै कर्मचारी आ–आफ्नो घर नगएर कार्यालयमा नै बस्ने गरेका छौं।

कार्यालयमा कार्यरत ११ जना कर्मचारी कार्यालयको कार्यकक्ष तथा हलमा नै सुत्ने गरेका छन् । कार्यालयमा नै खाना पकाएर खाने गरेका छन् । ‘अन्य कार्यालय भएको भए शिलबन्द गरेर आ–आफ्नो घरमा नै क्वारेन्टीन हुँदा पनि हुन्थ्यो तर हामीले आफ्नो कार्यालय बन्द गरे प्रदेशका ८ वटै जिल्लाका अस्पताल, आइसोलेसन, क्वारेन्टीन, स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामग्रीको आपूर्ति नै ठप्प हुन्छ,’ नायकले भने ।

केन्द्रले आठै जिल्लाबाट आउने निकायलाई स्वास्थ्य सामग्री नियमित रुपमा आपूर्ति जारी राखेको उनले बताए । स्वास्थ्य निकायलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स, स्यानिटाइजर तथा प्रयोगशालाका लागि कोरोना परीक्षण गर्ने किट, केमिकल रिएजेन्ट लगायतका सामग्री आपूर्ति गर्ने गरिएको उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी