२६ हजार ३९६ नेपाली स्वदेश फर्किए, प्रदेश नं. २ का ४ हजार ३४४ जना

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ वटा मुलुकबाट भएको चार्टर उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

यीमध्ये सबैभन्दा धेरै यूएईबाट ५ हजार ५२६, कुवेतबाट ५ हजार २४३, साउदी अरेबियाबाट ४ हजार ३०, मलेशियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ७ हजार ६६०, प्रदेश नं १ का ५ हजार ४७८, प्रदेश नं ५ का ४ हजार ३४१, प्रदेश नं. २ का ४ हजार ३४४, गण्डकी प्रदेशका ३ हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ जना नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई जना नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर उडान गरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ ।

ताजा खबर