Sun. Sep 27th, 2020

तीन जिल्ला मधेसका आवागमन निषेध, होला र समुदायमा कोरोना निषेध?

कोरोना संक्रमण बढ्दै गएपछि गएराति १२ बजेदेखि प्रदेश २ को केन्द्र जनकपुरमा निषेधाज्ञा लागू भएकाे छ  । आज  बिहानैदेखी उपमहानगरपालिका भित्र बजार पूर्णरुपमा बन्द भएको छ ।

निषेद्याज्ञा औपचारिक रुपमा घोषणा गर्नु तत्काल राहत भएपनि समुदायमा कोरोना संक्रमणको दूरगामी फैलाव रोक्न समुदायमा चेकजाँचको दायरा बढाउनु नै  स्रवोत्तम उपाय हुनेछ भनि त्यसलाई समेत चौतर्फी आवाज उठिरहेको छ।

‘लॉक डाउन त हुन्छ तर चेकजाँच गर्ने/गराउनेमा ढिलासुस्ति हुनहुँदैन! त्यो दायरा बढाउनु पर्छ होइन भने भाइरस संक्रमित संख्या समाजमा फैलिएपछि, बढेपछि वातावरण नै कोरोनामय हुनेछ र त्यस्तो अवस्था कुनै पनि उपकरणले त्यसलाई कंट्रोल गर्न नसकिने अवस्था आउँछ, त्यसको उदाहरण प्रदेस-२मा संक्रमणको दरले सजिलै बताउँछ!’, मास संयोजन सदस्य सरोज मिश्र बताउँछन।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने समेत उहाँले बताउनुभयाे ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको छ ।

आज बिहानैदेखी जनकपुरमा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपहरु खुल्ला गरिएको छ ।

जनकपुरको प्रमुख चौकहरुमा यतिबेला नेपाल प्रहरी र शसस्त्र प्रहरीले आवत जावत गर्नेहरुलाई चेक जाँच गर्दै छन् । स्थानीय प्रशासनको आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । धनुषामा अहिले संक्रमितको संख्या ७ सय २९ पुगेको छ । जसमा ६५८ पुरुष र ७१ महिला रहेका छन भने एकजनाको मृत्यु भएको छ । ५ सय ७९ जना ऊपचार पश्चात निको भएर घर फर्केका छन ।

धनुषा लगायत प्रदेशका ३ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ काे ठूला ३ शहर जनकपुर, जलेस्वर, गौरमासमेत यतिबेला निषेधाज्ञा लागू गरिएको छ ।

आजै मुख्यमन्त्री राउतले बोलाए बैठक

प्रदेश २ मा कोरोना संक्रमण बढदै गएपछि आगामी रणनीति बनाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउले विभिन्न दलका नेतासँग छलफल गर्ने भएका छन् । मंगलबार कोरोना सम्बन्धि आगामी रणनीति बनाउन साढे १२ बजे बैठक बोलाइएको मुख्यमन्त्री राउतका प्रेस संयोजकआतिश मिश्रले जानकारी दिए ।

प्रदेश २ मा ५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेपछि अब कोरोनालाई लिएर कसरी अगाडी बढने सो सम्बन्धमा विभिन्न पार्टीका संसदिय दलका नेताहरुसँग छलफल बोलाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार मिश्रले बताए । प्रदेश २ मा हाल सम्म ५ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।