Sun. Sep 27th, 2020

घेराबार गर्ने भनिएको नाका खुकुलो हुँदा संक्रमण तीब्र, परीक्षण कछुवाको चालले पाईएला र कोरोनामाथि विजय😷

इश्वरचन्द्र झा
काठमाडाैँ, साउन १६ गते । गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण गरियो । भारतबाट नेपाल प्रवेश गरेको २१ जनामध्ये १८ जना कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएको छ । हाल उनीहरू गोठगाउँमा आइसोलेसनमा छन् ।

नेपाल र भारतमा दैनिक रुपमा करिब एक हजार व्यक्ति सीमा ओहोरदोहोर गर्दैआएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयको तथ्याङ्कबमोजिम बिहीबार मात्रै ५०६ जना नेपालबाट भारत गएको र ६५९ जना भारतबाट नेपाल प्रवेश गरेको जनाएको छ । भारतसँग जोडिएको चार राज्य उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डमा दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन खुकुलो भएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दैआएको छ । मन्त्रालयले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्देशिकासमेत जारी गरेको छ तर बढ्दो सङ्क्रमणबीच मास्क नलगाएका करिब दुई लाख व्यक्तिलाई कारबाही गरिएको छ ।

वीरगञ्जमा पछिल्लो समय २८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार वीरगञ्जमा आठ चिकित्सक, छ नर्सिङ्ग स्टाफ र १२ पारामेडिक्ससहित २८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार आवश्यक सतर्कता नअपनाउँदा स्वास्थ्यकर्मीसमेत ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पुगेका छन् ।

यी चारवटै प्रतिनिधिमूलक घटना मात्रै हुन् । साउन लागेपछि करिब तीन प्रतिशत रहेको सङ्क्रमणदर हाल करिब चार प्रतिशत पुगेको छ ।  कुलमा सङ्क्रमण दर ५.३ प्रतिशत पुगेको हो । स्वास्थ्य विज्ञको सुझाव तथा मन्त्रालयले सतर्कता अपनाउन जारी गरेको निर्देशिका गिज्याउन यी घटनाहरू पर्याप्त छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, “लकडाउन खुकुलोलाई सर्वसाधारणले सतर्कता खुकुलोको रुपमा बुझेका छन् र सामाजिक दूरीको पालना, मास्क लगाउने र नियमित हात धुने बानीमा समेत ढिलाइ गरेका छन्, नतिजा आउन थालेका छन् ।”

लकडाउन खुकुलो हुँदा राजधानी काठमाडौँसहित देशैभरि सर्वसाधारणको चहलपहल बढेको छ । राजधानीको बजारमा समेत सामाजिक दूरीको पालना गरिएको छैन । यस्तोमा विद्यालय सञ्चालनको तयारी तथा पर्यटन र होटेल खुल्ने निर्णयले थप जोखिम बढाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डे थप्नुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दैआएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ, “दैनिक रुपमा गरिएको अपिलको पालना भएको छैन, परिणामस्वरुप जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्तिने जोखिम बढ्दैछ ।” तर जनस्वास्थ्य विज्ञ डा.पाण्डेले मन्त्रालयको अपिललाई मातृभाषामा अनुवाद गरी सबैले बुझ्ने बनाइँदै टोलसम्म पुर्याउनुपर्ने आवश्यकता देख्नुहुन्छ ।

नेपाल प्रवेश गर्ने नाकासमेत खुकुलो गरिएको छ । चैत्त पहिलो साता नै मन्त्रिपरिषद्ले नेपाल प्रवेशको सबै नाका अनिश्चितकालको लागि बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अझै कायमै छ । तर दैनिक रुपमा सयौँ व्यक्ति नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गर्नेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने स्वास्थ्य निर्देशिकामा व्यवस्था गरिएको छ । तर निर्देशिकाको पालना भएको छैन । निर्देशिकाको पालना नहुँदा नेपाल प्रवेश गरेकाबाट जोखिम विस्तार भई समुदायमा सङ्क्रमण फैलन सुरु भएको छ ।

नेपाली भूभाग जोड्ने भारतको पश्चिम बङ्गाल, बिहार, उत्तरप्रदेश र उत्तराखण्डमा सङ्क्रमित हुनेको सङ्ख्या तीव्र रुपमा बढेको छ । जसको असर पश्चिममा दैलेख, बझाङसँगै मध्य तथा पूर्वका वीरगञ्ज, राजविराज र विराटनगर शहरमा देखिएको छ । जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्नुहुन्छ, “सीमा शत प्रतिशत सिल गरिनुपर्छ, सीमा खुकुलो गर्दाको परिणाम वीरगञ्जसहित सुदूरपश्चिममा देखिँदैछ ।”

बाहिरबाट आउनेले क्वारेन्टिनमा बस्ने निर्देशिका पालना नगर्दा दुर्घटना निम्तिने जोखिम बढ्दो छ । “आफू सङ्क्रमित हुनुका साथै समुदायमा सङ्क्रमण सार्छ ।”–डा. पाण्डे भन्नुहुन्छ । पर्साबाट निर्वाचित सांसद प्रदीप यादवमा शुक्रबार, साउन १६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । तर एक दिनअघिसम्म उहाँ सार्वजनिक कार्यक्रम तथा अनुगमनमा सहभागी हुनुभएको थियो ।

वैज्ञानिक वन अनुगमन छानबिन उपसमितिका संयोजकसमेत रहनुभएका सांसद यादव गत बुधबार अनुगमनको क्रममा सिन्धुली पुग्नुभएको थियो । डिभिजन वन अधिकृत नारायण श्रेष्ठले सांसद यादवमा सङ्क्रमण पुष्टि भएपछि डिभिजन वन कार्यालय, सिन्धुलीबाट दिइने सबै सेवाहरू अर्को सूचना जारी नहुञ्जेलसम्म बन्द गरिएको सूचना प्रकाशन गर्नुभएको छ ।

जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्नुहुन्छ, “लक्षण देखिनेबित्तिकै स्वास्थ्य सतर्कताका उपाय अपनाउन सुरु गर्नुपर्छ, त्यसो नभए आफूसँगै परिवार र समुदायलाई जोखिम धकेलेको हुन्छौँ ।”
धनुषाको शहीदनगर नगरपालिकाको डुमरियाका एक ३६ वर्षीय व्यवसायीको गत साता कोरोना सङ्क्रमणबाट मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार व्यापारकै सिलसिलामा युवा सीमापारि गइरहन्थे ।

सङ्क्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले सङ्क्रमणको जोखिम उच्च रहेको जिल्ला तथा प्रदेशमा अझै बढी केन्द्रित हुनुपर्ने सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्क्रमित बढिरहेको जिल्लामा कर्फ्यु वा निषेधाज्ञा जारी गरेर परीक्षणलाई विस्तार गर्दा जोखिम न्यूनीकरण र नियन्त्रण हुन सहयोग पुग्नेछ ।”

पछिल्लो समय समूहमा बस्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सङ्क्रमित भएको फेला पर्दैछ । जसले अझै विकराल अवस्था निम्त्याउन सक्छ । जनसम्पर्कमा रहने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अझै सचेत हुनुपर्नेमा सतर्कता नअपनाई स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम बताउनुहुन्छ । जसले आफूसँगै अन्य स्वास्थ्यकर्मी र अन्य प्रकृतिका बिरामीमा सङ्क्रमण सार्ने जोखिम बढाउँछ ।

वीरगञ्जमा मात्रै २८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । काठमाडौँमा नेपाल प्रहरीका ७२ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । काठमाडौँबाहिर भने २५० जना नेपाल प्रहरी कोरोनाबाट सङ्क्रमित भएका छन् । समूहमा दिनचर्या बिताउने र सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मी सङ्क्रमित हुनुले जोखिम थपिँदैछ । सर्वसाधारणको सम्पर्कमा आउँदा प्रहरी अझै चनाखो र सतर्क भएर सेवा प्रदान गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउनुहुन्छ ।

जेठ र असार महिनामा विदेशबाट मात्रै नभई अर्को जिल्लाबाट फर्किँदा पनि क्वारेन्टिनमा राख्न स्थानीय तह सक्रिय देखिन्थ्यो । तर पछिल्लो समय स्थानीय तहको सक्रियता देखिन छोडिएको छ । जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्नुहुन्छ, “कक्षा सञ्चालनका लागि विद्यालय खाली गर्ने निर्णयले पनि स्थानीय तहको निष्क्रियता बढेको हुनसक्छ । तर स्थानीय र प्रदेशको निगरानी, सक्रियताबिना सङ्क्रमण नियन्त्रणमा आउन कठिन हुन्छ ।”

स्वास्थ्य पूर्वाधारमा कमजोर रहेको नेपालको सरकारी अस्पतालमा बिरामी भर्नाको क्षमता करिब दश हजार छन् । आईसीयू र भेन्टिलेटरजस्ता स्वास्थ्य पूर्वाधार सीमित मात्रामा छन् । जनस्वास्थ्य मापदण्डको उपयुक्त र सुझबुझ रुपले पालना नभए आईसीयू र भेन्टिलेटर तथा अस्पतालको शय्यासमेत उपलब्ध नहुने अवस्था निम्तिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम चेतावनी दिनुहुन्छ । गोरखापत्र ऑनलाइनबाट साभार।