Fri. Jan 22nd, 2021

चीनद्वारा केरुङ्ग- रसुवागढी नाकामा १० महिनादेखि अघोषित नाकावंदी

एक छोरा, एक छाेरी र बा-आमा । समयसुहाउँदो आकारको परिवार । सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेल परिवारले यसपालिको दसैँ काठमाडौंमै मनाउने सुर कसेको थियो ।

तर भित्रिँदो दसैँको सम्मुखमै यो परिवारमा वज्रपात भयो । २७ असोजकाे साँझपख ३५ वर्षीय पौडेलले पेप्सीकोलाको आफ्नो निवासमै पासो लगाएर आत्महत्या गरे । प्रहरीका अनुसार अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि दसैँ मात्र खल्लो रहेन, जीवन नै अप्ठेरोमा धकेलिएको छ । सात वर्षका छोरा र १० वर्षकी छोरी छन्, उनका ।

चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यवसायी हुन् पौडेल । सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीसँगै नेपाल-चीन सीमानाका बन्द भएपछि धेरै व्यवसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो ।

प्रहरीका अनुसार पौडेलको आर्थिक व्यवहार बिग्रिएको अनुसन्धानबाट खुलेको छ । पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘तर ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’

प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।

व्यवसायी हरेराम पाैडेल, जसले आत्महत्या गरे ।

पौडेलेको झण्डै २ करोड रुपैयाँ ऋण रहेको पारिवारिक स्रोतले बतायो । उनको सामान ११ महिनादेखि चीनको केरुङमा थन्किएको छ । सामान सीमामै अड्किएपछि पौडेलको ऋण थपिँदै गयो । कतिपय व्यवसायीले घरजग्गा धितो राखेरसमेत व्यापारमा लगानी गरेका छन् । ‘उता सामान अड्किएको छ, यता बैंक र साहुले ऋण तिर्न ताकेता गरिरहन्छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव नवराज तिमल्सिना भन्छन्, ‘दोहोरो चेपुवामा परेर हाम्रा साथीहरूले आत्महत्या गर्न थालिसके ।’

एकातिर सामान नाकामा अड्किएको वर्ष दिन कट्न लाग्यो भने अर्कोतिर ती सामान ल्याउन नेपाली व्यापारी चिनियाँ एजेन्टलाई चर्को भाडा दिनसमेत बाध्य छन् ।


२४ किलोमिटरको ढुवानी भाडा १२ लाख

दक्षिणी छिमेकी मुलुक भारतबाट बारम्बार प्रताडित नेपालले उत्तरी ढोका खुलेपछि राहत महसुस गर्ने धेरैको विश्लेषण छ । तर केरुङमा देखिएको चिनियाँ ज्यादतीले नेपालका लागि उत्तरी छिमेकी मुलुक राहतभन्दा बढी आहत हुन सक्ने संकेत गर्छ ।

कोभिड-१९ का कारण बन्द गरेको यो नाका चीनले ९ असोजमा खोल्यो, तर सर्तसहित । दैनिक पाँचवटा सामानसहितका कन्टेनर चिनियाँहरूले नै नेपाली सीमासम्म ल्याइदिने र त्यसबापत सामानधनीले ढुवानी खर्च बेहोर्नुपर्ने सर्त राखियो । दसैँको बेला सामान ल्याउन पाइने भएपछि नेपाली व्यापारीलाई केही राहत हुने ठानिएको थियो । तर भइदियो उल्टो ।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार एक कन्टेनर सामानको ढुवानी सुरुमा ५ हजार आरएमबी (चिनियाँ युआन) लिए पनि विस्तारै त्यो ७० हजार तिर्नुपर्ने अडान चिनियाँले लिन थाले । जसले यो रकम तिर्छ उसको सामान मात्रै लोड हुन थाल्यो । दसैँको बेला सामान ल्याउन पाए व्यापार होला भन्ने आशा पालेका व्यवसायी र बिग्रने सामान भएका व्यवसायीले अचाक्ली भाडा तिरेर भए पनि सामान भित्र्याए । ‘केही साथीहरूले ७० हजार आरएमबी तिरेर माल ल्याउनुभयो,’ पौडेल भन्छन् ।

हालको विनिमय दरअनुसार एक युआनको साढे १७ रुपैयाँ हुन्छ । यसअनुसार २४ किलोमिटरको ढुवानी भाडा नेपाली व्यवसायीले १२ लाख २५ हजार रुपैयाँ तिर्नुपरिरहेको छ । रसुवागढीदेखि काठमाडौंसम्मको ढुवानी भाडा छुट्टै तिर्नुपर्छ । दसैँमा नेपालमा व्यापार बढी हुने भएकाले त्यसअगाडि चिनियाँहरूले नेपाली व्यापारीलाई महँगो भाडा तिर्न बाध्य तुल्याएको संघका सदस्यसमेत रहेका रसुवागढी सीमाविन्दुमा होटल व्यवसाय गर्ने छिरिङ फिन्जो लोप्चन बताउँछन् ।

सामान्य अवस्थामा नेपाली कन्टेनर केरुङ छिरेर त्यहीँबाट सामान लोड गरेर काठमाडौं भित्रिन्थे । केरुङमा चिनियाँ पक्षले प्रतिकन्टेनर १५ सय युआन अर्थात् २६ हजार नेपाली रुपैयाँ राजस्व लिन्थ्यो । त्यसबाहेक काठमाडौंसम्मको भाडा बढीमा १ लाख रुपैयाँ पर्ने संघका अध्यक्ष पौडेल बताउँछन् । अहिले प्रतिकन्टेनर १० देखि साढे १२ लाख रुपैयाँसम्म तिर्नुपर्ने चिनियाँ पक्षको अडान छ । यो रकम तिर्नेको सामान सीमा पार गरेर आइरहेको छ भने तिर्न राजी नहुनेहरूका सामान त्यहीँ अलपत्र छन् ।

यति चर्को भाडा तिरेको भर्पाइ भने व्यवसायीले पाउँदैनन् । ‘सामान्य अवस्थामा पनि हामीले तिरेको रकमको कागजात दिइँदैनथ्याे’, संघका अध्यक्ष पौडेल भन्छन्, ‘अहिले त झन् कहाँ दिनु ।’

अघोषित नाकाबन्दी

कोभिड-१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गर्‍यो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएको थियो । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किए । ती सामान अहिलेसम्म कुन हालतमा पुगे भनेर अनुमान मात्र गर्न सकिन्छ । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई केरुङकै घामपानी सहेर बन्द भए ।

कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न  नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्‍यो ।

नेपाली व्यवसायीहरू सार्वजनिक रूपमै विरोधमा उत्रन थालेपछि ९ असोजमा दैनिक ५ कन्टेनर सामान चीन आफैँले नेपाली भूमिसम्म ल्याइदिन राजी भयो । त्यसका लागि चीनले आफ्ना एजेन्टलाई खटायो । ती एजेन्टले जसले महँगो दस्तुर तिर्छ, उसैका सामान मात्र ढुवानी गरिदिन थालेको छिरिङ फिन्जो लोप्चन बताउँछन् । ‘हामी चिनियाँका अगाडि एकदमै निरीह छौँ,’ उनी भन्छन्, ‘उनीहरूले मनलाग्दी पैसा माग्छन् । हाम्रो लागि बोलिदिने कोही छैन ।’

यो नाकाबाट सामान्य अवस्थामा दैनिक १ सय कन्टेनर सामान आवतजावत हुन्थ्यो । अहिले पाँचवटाको मात्रै पालो बाँधिदिएको छ । त्यति गर्दासमेत ९ असोजदेखि अहिलेसम्म जम्मा २ सय कन्टेनर सामान मात्र नेपाल भित्रियो ।

‘यो तरिकाले कहिले हाम्रो सबै सामान आउने हो ? हामी जवाफ खोज्न कहाँ जाने हो ?,’ संघका महासचिव नवराज तिम्सिना भन्छन् ।

तिम्सिनाले १ कात्तिकमा २० हजार युआन (३ लाख ६० हजार नेपाली रुपैयाँ) तिरेर आफ्नो सामान पार गराए । ‘बैंकले पैसा जम्मा गर्न भन्छ । आफ्नो सामान चीनमा फसेको छ,’ तिम्सिना भन्छन्, ‘मर्नुभन्दा बहुलाउनु निको भनेर तिरियो ।’

नेपालीलाई सीमा छेउछाउ ढिम्किनसमेत नदिएको स्थानीयबासीसमेत रहेका होटल व्यवसायी फिन्जो लोप्चन बताउँछन् । तिम्सिना त यसलाई चीनको अघोषित नाकाबन्दी मान्छन् । ‘दक्षिणले यसरी हाम्रो सामान यत्रो महिना रोकिदिएको भए सायद आगो बलिसक्थ्यो,’ उनी भन्छन्, ‘तर चीनले यत्रो महिनादेखि हाम्रो सामान रोक्दा पनि कसैले केही गर्न सकेको छैन ।’

चीन पनि उस्तै

तातोपानी र केरुङ नाका नेपालका लागि रणनीतिक महत्त्वको मार्ग हो । भारतसँगको परनिर्भता घटाउने मुख्य मार्ग यिनै दुई नाका हुन् । २०७२ को भूकम्पसम्म चालू हुँदा तातोपानी नाका राजस्व असुलीमा स्थलमार्गमा वीरगञ्जपछिको दोस्रो ठूलो थियो । यो नाकाबाट वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको द्विदेशीय आर्थिक कारोबार हुने गरेको अभिलेख छ । भूकम्पपछि चीनले यहाँको जमिन कमजोर बनेको भन्दै नाका बन्द गरेर कारोबार केरुङतर्फ मोडेको थियो ।

यी दुई नाका चीनसँगको द्विपक्षीय व्यापार र रणनीतिक दुवै हिसाबले नेपालका लागि महत्त्वपूर्ण हो । २०७६ मा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएपछि भारतीय एकल निर्भरताबाट नेपालमुक्त हुने भन्दै यसको प्रशंसा भएको थियो । यो सम्झौतापछि नेपालले तेस्रो मुलुकबाट चीनको भूमि प्रयोग गरेर व्यापार गर्न पाउने अधिकार स्थापित भएको थियो । तर महिनौँदेखि नेपाली व्यापारीको सामान बोकेका कन्टेनर अड्काएर चीनले असल छिमेकीको आभास दिलाउन सकेको छैन ।

संघको आँकडामा तातोपानी र केरुङ नाकामा नेपालीको करिब २० अर्ब रुपैयाँ मूल्यबराबरको २ हजार कन्टेनर अलपत्र छन् । घरजग्गा धितो राखेर गरेको लगानी डुब्ने भएपछि सामान छुटाउन गुहार माग्दै व्यवसायी कहाँ मात्र पुगेनन् । परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, चीनस्थित नेपाली दूतावास, ल्हासाको महावाणिज्यदूत, नेपालस्थित चिनियाँ दूतावास सबैतिर चहारे । चिनियाँ दूतावासले त बढी पैसा लिएको प्रमाण के छ भनेर सोध्ने गरेको छ । ‘उनीहरूले रसिद नदिने हुँदा हामीसँग प्रमाण छैन । तर यो समस्यामा हामी महिनौँदेखि पिल्सिरहेका छौँ,’ पौडेल भन्छन् ।

असोजको अन्तिममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली केरुङ र तातोपानी नाका निरीक्षणका लागि नपुगेका होइनन् । व्यवसायीले ज्ञवालीलाई त्यहाँ पनि यो समस्या सुनाए । चाँडै समाधान निकाल्ने वाचा गरेर ज्ञवाली फर्किएको महिना दिन टेक्न लागे पनि समस्या उस्तै छ । ‘हाम्रा सीडीओ, प्रहरी, नेता कोही पनि चिनियाँका अगाडि बोल्न सक्दैनन्,’ कतिपय दुईपक्षीय संवादमा सहभागी फिन्जो लोप्चन भन्छन्, ‘उनीहरूको कुरा सुन्यो आयो । नेपाललाई चीनले प्राथमिकतामा राखेकै छैन ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली व्यापारीको सबै समस्या मंसिरभित्र सल्टाउने गरी मन्त्रालयले तयारी भइरहेको बताए । उनले भने, ‘हाम्रा व्यवसायीको मर्काबारे कुरा भइरहेको छ । चाँडै निकास निस्कने अपेक्षा छ ।’

स्थलमार्गबाट यो नाका हुँदै नेपाली बजारमा समुद्रमार्गबाट भन्दा छिटो सामान आइपुग्छ । हवाई मार्गबाट सामान ढुवानी महँगो हुने र कोलकाताबाट सामान ल्याउँदा यी नाकाबाट भन्दा महिना दिन बढी समय लाग्छ । नेपालका लागि लाइफलाइन रहेको पुराना दुई नाका बन्द गराउँदा मारमा परेका नेपाली व्यापारी आत्महत्या गर्न बाध्य हुन थाल्नुले यो समस्या नसोचिएको पाटोतिर मोडिँदै गएको देखिन्छ ।

तस्वीर साैजन्य : छिरिङ लामा

सामाचार सौजन्य: शिलापत्र