Fri. Jan 22nd, 2021

जानकी मंदिरको पौराणिक शिल्पसँग खेलवाड

  • गोविंद महतो

 

जनकपुरधाम : ‘विश्व सम्पदामा सुचिकृत हुनका लागि तयार ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जानकी मन्दिरको अस्तित्व र मौलिकतालाई संकटमा पार्ने कार्य किन भइरहेको छ ? प्रदेश २ मा जानकी मन्दिर र जनकपुरधाम नै नरहे प्रदेश २ को अस्तित्व के ? पौराणिक पुरातात्विक संरचनालाई आफूखुशी छेडछाडको अर्थ विश्व सम्पदा सुचिमा सुचिकृत हुनबाट बञ्चित गराउने षडयन्त्र हो।’, सन २०१४ देखि जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गराउन अभियान चलाउँदै आएका समाजिक संस्था ‘भोर’का संस्थापक अध्यक्ष राजकुमार महतोले समाजिक सञ्जालमा आफ्नो भाव लेखे।

‘जनकपुरमा जानकीको अस्तित्व खतरामा परेको छ। पुरातात्विक पौराणिकता र अस्मितासँग खेलवाड गरिंदैछ। मन्दिरको पहिचान झल्कने धरोहरलाई ध्वस्त पारेर विश्व सम्पदा सुचिमा जान नदिन षडयन्त्रको हामीले पर्दाफास गर्नुपर्छ’, समाजिक सञ्जाल फेसबुकमा युवा अभियन्ता सरोज मिश्रले आक्रोश पोख्दै लेखे, ‘मुर्दाहरुको सहर जनकपुरमा कसैलाई केही मतलव छैन, हाम्रो आँखा अगाडि हाम्रो पहिचानको नाउँ डुब्दै छ, तर हामी मुखदर्शक छौं।’

पछिल्लो केही वर्षमा जानकी मन्दिरको मौलिकतामा गम्भीर असर पर्ने खालका संरचनाहरु निर्माण गरिएको छ। मन्दिरको ऐतिहासिकता र मौलिकताको ख्याल नै नगरी जथाभावी शौचालय, भोजनालय, भवनको निर्माण तथा भित्री र बाहिरी परिसरको ईट्टा, टाइल्स, मार्बलको पुरानो स्वरुप परिवर्तन गरी नयाँ स्वरुपमा ढालिएको छ।

प्राचिन मुगल शैलीमा वास्तुकलाको अनुपम नमुना मानिने जानकी मन्दिरको पुरानो संचरनालाई प्रदेश २ सरकारको ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत आफुखुशी परिवर्तन गरेर पुरानोलाई सामाप्त गर्दै नयाँ स्वरुपमा ढालिंदैछ। मुख्यमन्त्री लालबाबु राउतले मन्दिरको टाईल्स, मार्वल, ढल निकासी, पर्खाल र प्रवेशद्वार निर्माणका लागि गत वर्ष ७ करोड बजेट विनियोजन गरेको थिए।

तीन वर्षअघि २०७४ अषाढ ९ मा गैरआवासिय नेपाली (एनआरएन) ले जानकी मन्दिरको बीच मन्दिरको विद्युतीकरण गर्ने सम्झौता भए पनि सम्पर्क विहीन भएको सरोकारवाला बताउँछन्।

जानकी मन्दिर कुनै एक जनाको होइन, यो विश्वका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र हो। जानकी मन्दिरमा पुरातत्वविद्, सरोकारवालासँगको सल्लाहमा मात्र संचरना निर्माण गरिनुपर्दछ। स्थानीय युवा समाजिक अभियन्ता राकेश विक्रम साहले पटक–पटक आफुखुशी संचरना निर्माण गराउनुको उदेश्य पवित्र नभएको बताए। ‘विश्व सम्पादमा सुचिकृतका लागि पौराणिक मौलिकता आवश्यक भएको थाहा हुँदाहुँदै पनि खेलवाड गरिंदैछ। हामीले विश्वसम्पदा सुचिमा सुचिकृत गराउने कि सौन्दर्यीकरण गर्ने भन्ने विषयमा गहन छलफल आवश्यक छ’, उनले भने।

पुरातत्व विभाग र गुठीको स्विकृति बिना कुनै संचरना निर्माण वा भत्काउनु नहुने प्रावधान हुँदाहुदै पटक–पटक जथाभावी भौतिक संचरना निर्माण गरिएको छ। यसअघि पनि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले लाइटिङ्ग एवं विद्युतीकरण उपकरण जडान गर्न लाग्दा २०७५ पुस ९ मा रोकेको थियो। छोटे महन्त रामरोशन दास भने मन्दिरको मौलिकता बारे आफूहरु सचेत रहेका बताउँछन्।

युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकरणको प्रयासमा रहेका हुँदा त्यस क्षेत्रको साँस्कृतिक सम्पदा तथा पर्यावरणमा प्रतिकूल असर पर्ने गरी नयाँ संरचना निर्माण कार्य रोक्न भनिएको छ। निर्माण तथा मर्मत सम्भारका कारण मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन कठिन हुने भन्दै मौलिकता नबिगारी निर्माण गर्नुपर्ने विभागको पत्रमा उल्लेख छ।

जानकी मन्दिरमा सञ्चालित सौन्दर्यीकरण तथा संरक्षण आयोजनाको प्रमुख तथा पुरात्तत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारीले जानकी मन्दिरको सौन्दर्यीकरण आवश्यक सल्लाह बिना नगर्न जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २ सरकारलाई पत्रचार गरेकी थिइन्।
मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रुपमा रहँदै आएको छ। भारतको मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो।

यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकरण गर्न प्रयास जारी राखेको छ। क्षेत्रफलको आधारमा यो मन्दिर सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको मन्दिर हो। मन्दिर निर्माण भएको सवासय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ। १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा जग्गादान गरेको लिखतम अझैसम्म छ।