Fri. Jan 22nd, 2021

बेटी बचाउ बेटी पढाउ अभियान चलाउने मुख्यमंत्रीले बच्चा फाल्न भन्दा

जनकपुरधाम। धनुषाकी निहारीका सिंह उमेरले २० वर्षकी मात्र भइन्। बाबुआमाको कमाइमा सुख खोज्ने बेला काखमा ३ महिनाको छोरा बोकेकी छन्। आमाबुवाले उनलाई तिरस्कार गरेर घरबाट निकाले पनि उनी आमा बन्न पाएकोमा गर्व गर्छिन्।

काखमा भएको बच्चाको मुख हेर्दै आखाँमा खुसीको आँशु निकाल्छिन् र भन्छिन्, ‘मलाई आमा बन्ने सौभाग्य दियौ। तिम्रो के दोष थियो र तिमीलाई मैले गर्भमै मार्नु? त्यसैले मैले दुनियाँ छोडेकी छु।’

डिसी नेपालमा न्याय माग्दै आइपुगेकी निहारीकाले गत भदौ ५ गते तीजका दिन छोरालाई जन्म दिइन्। उनले त्यस पहिलाका ९ महिना रोएरै बिताइन्। कहिलै कसैको त कहिले कसैको ढोकामा पुगिन्, न्याय माग्न। धनुषामा रहेका स्थानीय निकाय, जिल्ला प्रहरी, महिला अधिकारकर्मी, संघसंस्था तथा प्रदेश नं. २ को प्रदेश प्रमुखकोसम्म ढोका ढक्ढक्याइन् तर, सबैले उनको गर्भमा रहेको बच्चा फाल्ने सुझाव दिए।

उनी ती सबै सुझावको विपक्षीमा उभिइन् र आफ्नो बच्चालाई जन्म दिएरै छोड्ने अठोट गरिन्। अन्ततः माइतीघर छोडिन् र एक्लै खुल्ला आकाशमुनी आइन्। ‘म धनुषामा न्याय नपाएर काठमाडौं आएकी हुँ,’ निहारीका भित्रको संघर्षको ज्वाला अझै निभेको छैन। उनले अझै आफ्नो न्यायको लागि अधिकारकर्मी तथा न्यायलयको ढोका चाहार्दै छिन्।

‘धनुषामा मेरो गर्भमा रहेको बच्चा फाल्ने सल्लाह दिए सबैले,’ उनले भनिन्, ‘मैले जीवनमा आमा बन्ने अवसर पाएकी थिएँ, किन फाल्नु बच्चा। म जसरी पनि आमा बन्छु भन्ने अठोट गरेँ।’ उनीमा आत्मविश्वास कायम नै थियो। उनी आफू आमा बनेकोमा गर्व गर्छिन र स्वीकार गर्छिन।

के थियो घटना?
निहारीका उच्च शिक्षा हासिल गर्न जनकपुरमा बस्थिन्। त्यही बेला उनीसँग एकजना पुरुषको भेटघाट हुन्छ। मोबाइल कम्पनीमा काम गर्छु भन्ने श्रेष्ठ थरका केटासँग निहारीकाको प्रेम सम्बन्ध अघि बढ्छ। कन्या केटी र विवाह नगरेका तर उमेर पुगेका केटासँग भेटघाट र प्रेम सम्बन्ध भएपछि उनी हर्षित हुन्छिन्।

‘मैले त पुरै विश्वास गरेको थिएँ,’ अहिले पनि निहारीकाको विश्वास डगमगाएको छैन। उनीहरुबीच सातै जुनी सँगै जिउने मर्ने बाचा हुन्छ। निहारीकाले आफ्ना आमा बुवालाई थाहै नदिइ उनीसँग विवाह गर्ने निधो गर्छिन्। श्रेष्ठले पनि उनलाई आफ्नो घर लैजाने, घरमा बस्ने र निहारीकासँगै विवाह गर्ने कुरा गर्छन्।

पहिला आफूलाई सहयोग गर्छौं भन्ने महिला अधिकारकर्मीहरुले विस्तारै साथ छोड्न थाले। केटाको मामाले प्रमुख जिल्ला अधिकारीको गाडी चलाउँनछन् भन्ने थाहा भएपछि होला कसैले पनि निहारीकाको सहयोग गर्न चाहेनन्। आफ्नो प्रेमी र उसको घरपरिवारबाट मानसिक हिंसामा परेकी निहारीका जन्म घरमा त झन शारीरिक हिंसा स्वीकारर्न बाध्य भइन्।

सम्बन्ध यहीमात्र सीमित रहेन। विवाह गर्ने कुरा भएपछि र घरमा आउने जाने भएपछि निहारीकाले श्रेष्ठलाई मनसँगै तन साटिँन्। जीवन साट्ने अपेक्षा भएपछि तन र मनको कुनै कुरै भएन। उनी अहिले केटामान्छेलाई अलि बढी विश्वास गर्नु भुल हो कि? शशंकित हुन्छिन्।

‘मैले विवाह पूर्व नै केटामान्छेलाई यतिधेरै विश्वास गर्नु हुन्थेन झैं लाग्छ,’ तनमन साटेपश्चात प्रेमको नासो निहारीकाको पेटमा प्रतित हुन्छ। संसारमा सच्चा प्रेम गर्नेहरुलाई भगवानले कोशेली प्रदान गर्छन्। त्यही निहारीकाको प्रेम जोडीले पनि प्राप्त गर्यो। तर, जव निहारीकाले प्रेमलाई विवाहमा परिणत गर्ने बेला भयो।

पेटमा दिन प्रतिदिन प्रेमको प्रतिक कोशेली हुर्किन र संसारमा आउने अपेक्षा गर्न थाल्यो तब श्रेष्ठको मन बदलियो। ‘घरमा लिएर १ महिना राखे।

तर, हरेक दिन उनले मलाई पेटको बच्चा फाल्नु पर्छ भन्ने दवाब दिन थाले,’ निहारीकाको सपना बालुवाको घर भयो। क्षणभरमा उनको सपना खरानी भयो। आफ्नो प्रेमीको घरलाई आफ्नो घर भनेर बस्ने उनको भाग्यमा अब श्रेष्ठले शब्दबज्र प्राहार गर्न थाले। श्रेष्ठको शब्द सापटी लिदैँ निहारीकाले भनिन्, ‘कसको पेट बोकीस् मलाई के था?’

श्रेष्ठका यस्ता शब्दहरुले निहारीकाको मन चिरा पर्यो। उनले मन बुझाउँदै श्रेष्ठको परिवारको त साथ पाइएला भनिन्। अपवाद श्रेष्ठको परिवारले पनि छोराकै भाषा प्रयोग गर्न थाले। उनलाई अब त्यो घर असुरक्षित महशुस हुन थाल्यो। कतै मेरो बच्चालाई यो संसार हेर्नबाट बन्चित गरिन्छ कि? निहारीकाको मनमा अनेकौं प्रश्न उठ्न थाले उनी घर छोडेर हिँडिन्।

कर्मघर नहुने भएपछि छोरीका लागि जन्म घर नै हुन्छ। जुन घरमा जन्मेर आफ्नो बाल्यकाल हुर्केको हुन्छ, आफूलाई हिड्न डुल्न सिकाएको आगनी, आफैंले सुसु गरेर गन्हाउने भएपनि बाल्यकाल बिताएका बिस्तराहरु, गाली नै गरेपनि आर्शीवाद हुने आमाका शब्दहरु, छोराछोरीको सफलताको लागि नथाक्ने बुवाका पाइलाहरु, साथीसंगी र अरु आफ्न्त हुने ठाउँमा जाने निर्णय गरिन् निहारीकाले पनि।

त्यो आगनीले उनको स्वागत गर्न सकेन। समाजमा विवाहपूर्व नै गर्भवती भएकी छोरी भनेपछि आमाबुवाको इज्जत गइसकेको थियो। आमा बुवाको नजरमा निहारीकाको मृत्यु भइसकेको थियो। उनले त्यो आगनी टेक्दा जन्म दिने आमाबुवालाई दुःखको पहाडले थिच्यो। उनीहरु आफ्नो आगनीमा विपद् आएको अनुभूति गर्न थाले। पेटमा राक्षस बोकेर छोरी घरमा पाइला टेकेको अनुभूति भयो।

निहारीकाको पेटमा भएको बच्चा मार्न चाहन्थे उनीहरु। ‘दुई दिनसम्म खाना पानी पनि दिएनन्,’ निहारीकाले त्यो दिन सम्झिइन्, ‘आमा र ठूलीआमा भएर पेटमा लात्ती हान्न थाल्नु भयो। उहाँहरु मेरो पेटमा भएको बच्चालाई मार्न चाहनु हुथ्यो। मलाई पनि गर्भपतन गराउ अनि हामी स्वीकार्छौं भन्न थाल्नु भयो। तर, मैले मेरो बच्चा मार्ने आटँ गरिन। यसको के दोष, यसलाई किन मार्नु झै लाग्यो।’

निहारीकाले घर छोड्ने निश्चय गरिन्। आफूले जन्मदिने आमाबुवाबाट पनि सहयोग र सपोर्ट नपाएपछि उनी भविष्यको प्रतिक्षा गर्न थालिन्। उनले अठोट गरिन् आफ्नो पेटमा भएको बच्चालाई जन्मदिने। उनी जन्मे र हुर्केको घर पनि छोडिन। बाबुआमा, दिदीहरु र सबैभन्दा सानो भाइलाई पनि छोडिन्।

उनी एक्लिइन्। ‘भोक, भोकै बसेँ, भोकले चक्कर आएर लडेँ’ ‘म उसैको (केटाको) घरछेउमा डेरा गरेर बस्न थालेँ। मलाई केही दिदीहरुले सहयोग गर्छौ भन्नु भएको थियो। र साथीहरुले पनि सहयोग गरे। एक्लै बसेँ।’ आफ्नो इतिवृति सुनाउँदै थिइन् निहारीका। ‘उनीहरुले दैनिक देख्ने गरी बसेँ। र आफ्नो लडाईलाई जारी राखेँ।’ उनी दुवै घरछोडेर डेरा गरी बस्न थालिन्।

अब लडाईका लागि उनी न्यायमूर्तिका ढोकाहरुमा धाउन थालिन्। जिल्ला प्रहरी कार्यालय धनुषामा पुगिन्। त्यहाँको महिला सेलका सईले उनलाई नै दोषी सावित गर्ने कोशिस गरिन्। ‘महिला सेलको सईले तिमी नै त्यस्तै हौ भन्नु भयो। मलाई भोलि डिएनए चेक हुन्छ पनि भन्नु भयो। र, गर्भ पतन गराउने सल्लाह दिनु भयो।’ डिएनए चेकजाँच भए पनि डर छैन निहारीकालाई। ‘जुनसुकै चेकजाँच गराए पनि हुन्छ।’

अहिले पनि उनी आफ्नो काखमा भएको बच्चाले भए पनि आफूलाई न्याय दिलाउनेमा ढुक्क छन्। ‘मलाई यो बच्चाले नै न्याय दिलाउँछ। म बच्चाको लागि भए पनि जीवित रहनुपर्छ भन्ने सोच्छु र रहन्छु पनि।’ आत्महत्या गर्ने विचार पनि निहारीकाको मनमा आएको थियो। जव उनी एक्लै बस्थिन्, खान थिएन्। भोकै बसेपछि चक्कर आयो र घरको सिँढीमा लडिन्।

‘दुई पटकसम्म म बस्ने घरको सिँढीमा लडेको थिएँ। दुई तला माथिबाट मुनिसम्म पुगेँ। म अस्पताल गएँ। मलाई त हल्का चोटपटक लागेको थियो तर, पेटमा बच्चालाई केही भएको पाइएन। म खुसी भएँ।’ आफूमा आएको आत्महत्याकाको सोच मनैबाट निकालिन निहारीकाले। जब उनी दोश्रोपटक सिँढीमा लडेर बच्चा सुरक्षित भएको खबर पाइन्। उनी अहिले पनि त्यो दिनलाई सम्झिन्छन्।

‘यो बाबुलाई यो धर्तीमा आउनु थियो। म दुई पटकसम्म लड्दा पनि केही भएन। आमाले यो पेटमै मरोस् भनेर पेटमा लात्ति बझार्दा पनि केही नभएपछि उसले जन्मलिनुमा केही अर्थ छ झैं लाग्यो र जसरी पनि जन्म दिनुपर्छ भन्ने मेरो आत्म विश्वासमा बढ्वा मिल्यो।’ न्याय नपाएपछि काठमाडौं निहारीकाले धनुषामा रहेका सम्पूर्ण सम्भावित ठाउँ चाहारिन्।

पहिला आफूलाई सहयोग गर्छौं भन्ने महिला अधिकारकर्मीहरुले विस्तारै साथ छोड्न थाले। केटाको मामाले प्रमुख जिल्ला अधिकारीको गाडी चलाउँनछन् भन्ने थाहा भएपछि होला कसैले पनि निहारीकाको सहयोग गर्न चाहेनन्। आफ्नो प्रेमी र उसको घरपरिवारबाट मानसिक हिंसामा परेकी निहारीका जन्म घरमा त झन शारीरिक हिंसा स्वीकारर्न बाध्य भइन्।

सिडियो कार्यलयमा पनि पुगिन्। सिडियोले उनलाई समय दिन नै मानेनन्। उनी स्थानीयका सबै खालका संघ संस्थामा पुगिन जहाँ न्यायको लागि अपेक्षा राख्न सकिन्थ्यो। ‘मलाई सहयोग गर्छौं झैं गर्ने अनि अरु अरु कुरा गर्न खोज्ने।’ निहारीका सबै केटाहरु उस्तै हुन भन्नेमा पुगेकी छन्।

दुई नम्बर प्रदेश सरकारको नारा नै छ, ‘बेटी बचाउ, बेटी पढाउ’। निहारीकाले यो नारा नारामामात्र सीमित भएको जिकिर गरिन्। उनले भनिन्, ‘म मुख्यमन्त्रीकोमा पनि पुगेकी थिएँ। उहाँले पनि लाउलाउ, खाउँखाउँ भन्ने उमेरमा के यस्तो गरेको। त्यो पेटको बच्चा फालेर आफ्नो जीवनलाई नविकरण गर। यो त तिम्रो कमजोरीको कारण हो भन्नु भयो। आफूले मोबाइल चलाएर बस्नु भयो मलाई कुनै रेस्पोन्स नै गर्नु भएन।’ निहारीका सबैखाले न्यायका मूर्ति मानिएकाहरुसँग ढोग्न छोडिन्।

उनी सम्झन्छन्, ‘अरुले भने झै मैले पेटको बच्चा फालेँ भने पनि म बद्नामी त भइसकेँ। मैले आफ्नो शरीर र आफ्नो गुमेको प्रतिष्ठालाई फिर्ता ल्याउन त सक्दैन। मैले अरु कसैसँग विहे गरेभने पनि के ग्यारेन्टि छ उसले मलाई हिंसा गर्दैन भन्ने यी सबै कुरा सम्झेर बरु आमा बनेर न्याय लड्छु भन्ने सोचेँ।’

जिल्लामा न्याय नपाएपछि उनलाई काठमाडौंमा पनि महिलाअकिारकर्मी र न्यायलय छ भन्ने सोच जाग्यो। ‘मैले सोचेँ काठमाडौंमा त कमसेकम कोही कसैको प्रभाव र दवामा पर्दैनन् होला। मैले न्याय पाउँछु होला भन्ने अपेक्षा गरेँ र काठमाडौं आएँ।’ उनी न्यायलयले केटाको गल्ती हैन केटीको मात्र गल्ती हो भनिदेवस वा न्याय देवस भन्ने चाहन राख्छिन्। ‘कि त मलाई न्याय दिलाओस्, वा न्यायलयले केटा निर्दोष छ भनिदेओस्, यत्रिमात्र अपेक्षा छ। केटा निर्दोष छ भनेको दिनदेखि मेरो न्याय प्रतिको घिडघिडो हट्नेछ।’ साभार: डीसी खबर