मधेसमा नेताको व्यवस्थापन भयो, मुद्दाको व्यवस्थापन भएन

जबसम्म मधेसमा रंगभेद रहिरहन्छ । मधेसका मान्छेले नेपाल मेरो देश हो भनेर अनुभूति गर्न सक्दैनन् । तबसम्म यी र यस्ता घटनाहरु भइरहन्छन् । अहिलेसम्म नेपाल मधेसमा नेताको व्यवस्थापन भयो, मुद्दाको व्यवस्थापन भएन । जब जब मधेसका मुद्दाहरु उठे, तबतब राज्यसत्ताले नेताको व्यवस्थापन गर्‍यो । सम्बन्धित नेतालाई मन्त्री बनायो, सम्बन्धित नेतालाई सांसद बनायो ।

तर मुद्दालाई सम्बोधन गरेन । डा. राउतसँग गरेको ११ बुँदे सम्झौतालाई हेर्नुभयो भने पनि तपाईँले मुद्दा भेट्नुहुन्न, यसमा पनि डा. राउत, उनको संगठन, उनका कार्यकर्ता, पर्चापम्प्लेटको मात्रै कुरा गरेको छ ।

यो सम्झौताले पनि डा. राउतको व्यवस्थापन ग¥यो । त्यो मुद्दा वा समस्याको समाधान गर्न सकेको छैन । त्यही भएर मुद्दाको सम्बोधन नहुन्जेल यी र यस्ता विषय उठिरहन्छन् ।

मुद्दाको सम्बोधन गर्नका लागि व्यवहारिक, तटस्थताको जरुरी छ । खासगरी नेपालको समाजमा भौगोलिक एकीकरण भयो, आत्मीय एकीकरण हुन सकेन । मधेसका मान्छेलाई हुम्लाजुम्लामा पानीका लागि ३ घण्टा एउटा चेलीले बोक्नुपर्छ । सिटामोल पाउँदैन । जीवन गाह्रो छ । मधेसमा पहिचानको समस्या छ, पहाड र हिमालमा जीवनकै समस्या छ ।

मधेसका मान्छेलाई जबसम्म यो कुरा थाहा हुँदैन कि, पहाड र हिमालको जनजीवन कति कष्टकर छ । सिंहदरबारले भक्तपूरलाई हेरेको छैन, कीर्तिपूर, र माथिमाथिको गाउँलाई पनि हेरेको छैन भन्ने मधेशीलाई थाहा हुनुप¥यो । पहाडी मान्छेलाई के थाहा हुनुपर्‍यो भने धोती लगाएका मान्छे पनि नेपाली हुन्छन् ।

अपनत्व हुनुपर्‍यो । आत्मीय एकीकरण हुनुप¥यो । मलाई त के लाग्छ भने केही सीमित व्यक्तिहरु बाहेक मधेसी र पहाडी व्यक्तिहरुको चिनजानै छैन ।

९० प्रतिशतभन्दा मधेशीहरु हिमाल नपुगी मर्दोरहेछन्, ९० प्रतिशतभन्दा बढी पहाडीहरु जानकी मन्दिर नगईकन मर्दोरहेछन् । त्यसकारण भौगोलिक एकीकरण भएपश्चात् पनि आत्मीय एकीकरण नभएसम्म, एकअर्काको घाउ, पीडा, राज्यले गरेको व्यवस्थाको जानकारी नभएकाले पनि आक्रोशमा आएको हो । जुन पनि व्यक्ति काठमाडौँ जाने र काठमाडौँबाट फर्किदा आफ्नो गाउँ काठमाडौँ जस्तो नपाउने हुँदा आक्रोशमा आएको हो ।

( राजेश अहिराज मधेस मामिलाका जानकार हुन् । मधेसबारे विद्यावारिधि गरेका अहिराजले बुटवलमा पत्रकारहरुसँग लामो कुराकानी गरे ।

अहिले चर्चामा रहेको सरकार र स्वतन्त्र मधेसको आन्दोलन चलाइरहेका सीके राउतबीचको ११ बुँदे सम्झौता र मधेस राजनीतिबारे छलफल गरे ।

मधेस, पहाड र हिमालबीचको चिन्तनका बारेमा विश्लेषण गरे । एकघण्टाजतिको बसाईमा बुटवलका पत्रकारहरुसँग व्यक्त गरेका अहिराजका विचार उनकै शब्दमा ।
सीपी खनाल, फाल्गुन २९, २०७५, देश संचार ऑनलाइन बाट पुरानै विषयवस्तु रहे पनि समय सन्दर्भिक भएकोले प्रस्तुत गरिएको छ।)